नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनका समयमा ग्राहकको इन्टरनेट सेवा नकाट्न सेवा प्रदायकलाई निर्देशन दिएको छ।
केही इन्टनेट सेवा प्रदायकले समयमा महसुल भुक्तानी नगरेका कारण सेवा अवरुद्ध गरेको भन्ने गुनासो आएसँगै प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो। लकडाउन सकिएपछि बिल तिर्दा पनि जरिबाना लिन नपाइने प्राधिकरणले जनाएको छ ।
लकडाउनका क्रममा नागरिक घरभित्र बस्नुपरेको र इन्टरनेट अति आवश्यक सेवा भएकाले कुनै पनि बहानामा ग्राहकको लाइन काट्न नहुने प्राधिकरणले सूचनामार्फत जनाएको छ ।
प्राधिकरणले भुक्तानी गर्न असमर्थ ग्राहकहरुको इन्टनेट सेवासमेत लकडाउन अवधिभर निरन्तर सञ्चालन हुने गरी व्यवस्था मिलाउन र लकडाउन अवधिपश्चात विलम्ब शुल्क नलिई भुक्तानी लिने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ।