कोरोना भाइरसको सङ्क्रमणका कारण अस्पताल भर्ना भएकी एक युवती अस्पतालबाट आज डिसचार्ज भएकी छिन् ।
काठमाडौँकी १९ वर्षीया प्रसिद्धी श्रेष्ठ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार पछि पूर्ण स्वस्थ भएर घर फर्किएकी अस्पतालका निर्देशक डा सागरराज भण्डारीले जानकारी दिए ।
उनले ४८ घण्टामा दुई पटक कोरोना भाइरस नेगेटिभ आएपछि बिरामीको सबै अवस्था राम्रो भएपछि घर फर्काइएको हो । उनलाई २७ दिनसम्म अस्पतालमा उपचार गरेर आज घर फर्काइएको हो ।
फ्रान्सबाट गत चैत ४ गते नेपाल आएकी उनलाई चैत १० गते सङ्क्रमण देखिएपछि अस्पताल भर्न गरी आइसोलेशनमा उपचार गरिएको थियो ।
यसअघि चीनको बुहानबाट आएका अर्का एकजनालाई पनि सङ्क्रमण देखिएपछि सोही अस्पतालमा नै उपचारपश्चात् स्वस्थ भएर घर फर्काइएको थियो ।