विश्व नै कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ । यस्तो अवस्थामा पनि आफ्नो ज्यानलाई बाजी राखेर कोरोनासँग लडिरहेका बिरामीको सेवामा खटिरहेका टेकु अस्पतालका डा. शेरबहादुर पुनसँग स्वास्थ्य मन्त्रालयले स्पष्टिकरण मागेपछि प्रतिनिधिसभा सदस्य कमला रोकाले पनि यसको विरोध गरेकी छन् ।
प्रतिनिधिसभा सदस्य रोकाले सामाजिक सञ्जाल फेसबुक मार्फत मृत्युको प्रबहा नगरी कोरोनाका बिरामीको सेवामा डटिरहनु के डाक्टरको गल्ती हो ? यस्तो सेवारत डाक्टरलाई पुरुष्कृत गर्नु पर्ने ठाउँमा कारबाहीको कुरा के हुँदैछ यहाँ ? भनेर सरकारसँग प्रश्न उठाएकी छन् ।
हेर्नुहोस् रोकाको फेसबुकमा यस्तो स्टाटस:
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका सम्बन्धमा मर्यादा विपरित काम गरेको भन्दै डा. शेर बहादुर पुनसँग स्पष्टिकरण मागेको छ।
मन्त्रालयले डा. पुनले कोरोनाका विषयमा जथाभावी अभिव्यक्ति दिनुको साथै फोन नम्बर लिक गरेको भन्दै मर्यादा विपरीत गतिविधि गरेका कारण जवाफ मागेको जनाएको छ ।
मौखिक रुपमा मन्त्रालय बोलाउँदा डा. पुन उपस्थित नभएपछि पत्र काटेको मन्त्रालयको प्रशासन शाखाका प्रमुख रघुराम विष्टले बताए । ‘केही कुरामा कन्फ्युजन भइरहेकाले हामीले दुई पटक अस्पताल बोलायौँ, तर उहाँ नआएपछि हामीले चिठ्ठी लेख्नु पर्ने बाध्यता भएको हो’ विष्टले भने ।
यता सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरसका बारेमा जनचेतनाका लागि बोलेको भन्दै आफूलाई कारबाही गरेकोप्रति आश्चर्य प्रकट गरेका छन् । डा. पुन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत छन् ।