शनिबार दमक–६ स्थित जामे मस्जिदमा रहेका ११ भारतीय धर्मगुरुसहित १४ को आरडिटी परीक्षण गरिएको नगरपालिकाले जनाएको छ ।
आरडिटी परीक्षणको रिपोर्ट भने सबैको नेगेटिभ आएको नगरपालिकाका प्रवक्ता गीता अधिकारीले जानकारी दिइन् । उपप्रमुखसमेत रहेकी प्रवक्ता अधिकारीका अनुसार सबैको रिर्पोट नेगेटिभ आएपछि डराउनुपर्ने अवस्था आएको छैन ।
उनीहरु दुई महिनाअघि नै नेपाल आएको खुलेको छ । कोरोना सङ्क्रमण हुन नदिन सरकारले बन्दाबन्दी जारी राखेपछि उनीहरु भारत फर्कन नपाएको बताउँदै आएका छन् । उनीहरु केही दिनयता मस्जिदमै सेल्फ क्वारेन्टाइनमा छन् ।
देशका विभिन्न मस्जिदमा कोरोनाका बिरामी भेटिन थालेपछि दमकको मस्जिदमा समेत निगरानी बढाउन नगरवासीले आवाज उठाउँदै आएका थिए ।
यसैगरी शनिबार नै मस्जिदमा रहेका बाहेक इलाका प्रहरी कार्यालय दमकको थुनामा रहेका कैदी र प्रहरी गरी पाँच, क्वारेन्टाइनका एक र आम्दा अस्पतालबाट एक बिरामी गरी २१ जनाको आरडिटी परीक्षण गरिएको थियो । तीमध्ये चार जनाको थप स्वाब परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । हाल दमक–४ स्थित दाहाल प्रतिष्ठानको क्वारेन्टाइनमा दुई र मानसरोवर इन्स्टिच्युटमा १५ पुरुष रहेको जनाइएको छ ।