logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतीय क्‍वारेन्टाइनमै ‘आमाको किरिया बसेका’ भट्टलाई नेपाल ल्याइयो


अंकुरण खबर
767
Shares

लकडाउनका कारण भारतीय क्षेत्र दार्चुलामै आमाको किरिया बसेका एक नेपालीलाई आइतबार स्वदेश ल्याइएको छ।

दार्चुलाको शैलेशिखर नगरपालिका-१ का वासुदेव भट्टलाई दुई देशको समन्वयमा केहीबेर अघि नेपाल ल्याइएको हो । भारतको क्वारेन्टाइनमै आमाको किरिया बसेका भट्टलाई आइतबार दिउसो साढे १ बजे नेपाल ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।

डिएसपी दीपेन्द्र शाहीले दुवैतर्फका प्रहरीको सहयोगमा दत्तुस्थित झोलुंगे पुलको ढोका खोलेर भट्टलाई नेपाल प्रवेश गराइएको जानकारी दिए। शाहीले भने, ‘जिल्ला अस्पतालमा स्वास्थ्य जाँचपछि उनलाई आजै घर पठाइने छ।’

नेपालतर्फबाट पहिले नै पहल भए पनि भारतीय पक्षले प्रक्रियागत ढिलाई गरेकोले भट्टलाई नेपाल ल्याउन केही ढिलाई भएको प्रहरीले जनाएको छ।

क्वारेन्टाइनमै बसेका बेला घरमा आमाको निधन भएपछि उनले घर फर्किन खोजेका थिए। तर, अनुमति नपाएपछि उनी क्वारेन्टाइनमै आमाको किरिया बसेका थिए।