प्रधानमन्त्री केपी शर्मा ओलीले एकतर्फी रुपमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै नेकपा विवाद चर्किएका बेला पूर्वमाओवादी खेमाले सरकार छाड्ने चर्चा चलेको थियो ।
सोमबारै राजनीतिक वृत्तमा पूर्वमाओवादी पक्षका मन्त्रीले सामूहिक राजीजामा दिने तयारी गरेको चर्चा गाईंगुईं चलेको थियो । तर, मन्त्रीहरुको राजीनामा नआउने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार नछाड्ने स्पष्ट गरेका छन् ।
‘मुलुक महामारीविरुद्ध एकताबद्ध भएर लड्नुपर्ने बेलामा ओलीले जे गरे त्यो विकल्पकुल गलत र आत्मघाती कदम हो’, प्रचण्डको भनाइ उद्धृत गर्दै उनीनिकट एक स्थायी समिति सदस्यले भने, ‘तर, मन्त्रीहरुको राजीनामा आउने कुरा सही होइन ।’
पूर्वमाओवादीबाट वर्तमान सरकारमा रामबहादुर थापा बादल, वर्षमान पुन अनन्त, गिरिराजमणि पोखरेल, लेखराज भट्ट र बिना मगर मन्त्री छन् ।
पार्टीमा छलफल नै नगरी राजनीतिक विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशतको समर्थन भए नयाँ दल दर्ता गर्न मिल्ने प्रावधानसहित सरकारले सोमबार सिफारिस गरेको अध्यादेश सोमबारै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरिसकेकी छन् ।