सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको जनाएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७१ औं स्थापना दिवसका अवसरमा सन्देश दिँदै दाहालले भनेका छन्, ‘प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार हो।’
त्यसका लागि पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत् पार्टी एकतालाई थप सुदृढ बनाउन सकिने उनको भनाइ छ।
नेकपाको ७१ वर्ष लामो राजनीतिक संघर्षका दौरानमा कम्युनिस्ट आन्दोलनले नेपाली राजनीतिलाई गुणात्मक दिशा निर्देश मात्र नगरी विश्व कम्युनिस्ट आन्दोलनलाई नै नयाँ र मौलिक सन्देश दिएको उनले उल्लेख गरेका छन्।
‘कठोर संघर्षकै बलमा संघीय गणतन्त्रात्मक शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवादउन्मूख संविधान, सामाजिक न्यायलगायत महत्वपूर्ण उपलब्धी हासिल भएका छन्,’ दाहालले भनेका छन्, ‘प्राप्त उपलब्धीलाई संस्थागत गर्दै समाजवादी क्रान्तिको तयारीका लागि गरिएको पार्टी एकताले हामीलाई लक्ष्यप्रति समर्पित हुन थप प्रेरणा र उर्जा दिएको छ।’
