उदयपुरमा कोरोना भाइरसको संक्रमण देखिएका मध्ये ३ जना युवा विदेशबाट आएको खुलेको छ। मंगलबार कोरोना संक्रमण देखिएका एक युवक दुबई र अरु दुई युवक भारतबाट आएका हुन्।
दुबईबाट आएका युवक फागुन १० गते घरमा पुगेको र एक युवक भारतको नयाँ दिल्ली र अर्का उत्तर प्रदेशबाट आएको खुलेको छ।
भारतबाट आएकाहरु चैत ६ गतेदेखि ९ गतेको बीचमा घर पुगेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिएका छन् । उनीहरु तीनैजना उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका बासिन्दा हुन्।
भल्केको नुरी मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पाइएपछि उनीहरूसँग नियमित सम्पर्कमा रहेका मुस्लिम समुदायका ५३ घरका बासिन्दाको स्वाब संकलन गरिएको थियो। सोही क्रममा तीन युवामा समेत कोरोना संक्रमण देखिएको हो ।
विदेशबाट आएका युवाहरु नियमति मस्जिदमा जाने–आउने गरेकाले उनीहरुबाट नै अरुलाई कोरोना सरेको आशंका स्थानीयले बताएका छन्। तर, कोरोना कहाँबाट कोमा सर्यो भन्ने एकिन भैसकेको छैन। प्रहरीले यस बारेमा अनुसन्धान भैरहेको जनाएको छ।