logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उदयपुरमा दुई  हजार १ सय जनामा पिसिआर परीक्षण गर्ने तयारी


अंकुरण खबर
871
Shares

उदयपुरको भुल्केमा २८ जना व्यक्तिमा कोरोना संक्रमित देखिएपछि थप परीक्षण गर्ने तयारीमा स्थानीय सरकार जुटेको छ।

त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले दुई हजार १ सयको पिसिआरबाट कोरोना जाँच गरिने जानकारी दिए।

बीचमा किट अभावले परीक्षण धेरै मात्रामा गर्न सकेनौं। साँझसम्म किट आइपुग्यो भने भोलिबाट परीक्षण सुरू गर्छौं, उनले भने, सुरूमा दुई सय ५ जनाको परीक्षण गर्छौं र त्यसको नतिजा आएपछि थप दुई हजार १ सयको परीक्षण गर्ने तयारी गरेका छौं।‘

उनले जिल्ला सदरमुकाम गाईघाट बजार क्षेत्रका मानिसको पनि परीक्षण गरिने बताए। संक्रमितहरू चिया पसल, तरकारी पसलमा पुगेको हुनसक्ने भन्दै नगरपालिकाले त्यस्ता ठाउँका व्यक्तिको पनि परीक्षण गर्ने तयारी गरेको हो।

२८ जनामा संक्रमण देखिएको भुल्के गाईघाट बजारबाट ३ किलोमिटर दूरीमा पर्छ। यसकारण पनि संक्रमितहरू गाईघाट बजार आवतजावत गरेको बुझिएको छ।

गत शुक्रबार भुल्केको एक मस्जिदमा रहेका १६ जनामध्ये १२ जनालाई कोरोना संक्रमण देखिएको थियो। लगत्तै बाँकी चार जनामा पनि संक्रमण पुष्टि भयो। त्यसपछि समुदायस्तरमा पनि फैलिएको हुनसक्ने भन्दै झन्डै साढे ४ सयको परीक्षण गर्दा थप १२ जनामा संक्रमण देखिएको छ।

थपिएका १२ जना संक्रमित भने भुल्केकै हुन्। यसअघि संक्रमण पुष्टि भएका १६ जना भने धेरैजसो भारतीय र केही नेपाली छन्।