बाँकेको नेपालगन्जका एक पुरुषमा कोरोना भाइरस संक्रमण देखिएपछि प्रशासनले विभिन्न चार स्थानमा सिल गरेको छ।
नेपालगन्ज उपमहानगरपालिका–८ डीएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय पुरुषमा कोरोना संक्रण देखिएपछि आसपासका चार वटा स्थानलाई सिल गरिएको बाँके प्रशासनले जनाएको छ।
डीएसपी रोडसहित धम्बोजी चोक र एकलैनी क्षेत्र सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले बताए। संक्रमित व्यक्ति घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक आउजाउ गर्दै आएको खुलेको छ।
उनी थुप्रै व्यक्तिको सम्पर्कमा पुगेको हुनसक्ने आशंकामा ती क्षेत्र सिल गरिएको खड्काले बताए। संक्रमित व्यक्तिका पत्नी र छोरा तथा नजिकका छिमेकीको पनि कोरोना जाँच गरिने प्रशासनले जनाएको छ।
संक्रमित पुरुष करिब एक महिना पहिले भारतको बहराइचबाट नेपाल फर्किएको बुझिएको छ। महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका झन्डै ६ सय जना भागेकामा उनी पनि त्यसैमध्ये रहेको आशंका छ।