नेपालमा सात वर्षको बच्चामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सानो उमेरमा कोरोना पुष्टि भएको यो पहिलो घटना हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनको क्रममा आज कोरोना पुष्टि भएका नेपालगञ्जका ९ जनामध्ये एक जना सात वर्षको बच्चा पनि रहेको बताए । तर बालक वा बालिका भन्ने बारेमा भने उनले केही खुलाएनन् ।
नेपालगञ्जका ९ जना र पर्साका ३६ वर्षका पुरुष गरी १० जनामा आज एकैदिन कोरोना सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । तीमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।