कुवेतमा कोरोना भाइरस संक्रमित नेपालीको संख्या ८४ पुगेको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।
पछिल्लो पटक ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या बढेको हो । कुवेतमा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएकाले नेपालीलाई सावधानी अपनाउन दूतावासले आग्रह गरेको छ ।
कोरोनाको शंका लागेमा आफैँ वा रोजगारदाता व्यवस्थापनसँग सम्पर्क राखी तत्काल स्वास्थ्य परीक्षण गराउन पनि दूतावासले भनेको छ ।
कोरोना संक्रमणका कारण काममा जान नपाउँदा रोजगारदाताबाट पाउनुपर्ने तलब, सुविधा नपाएको तथा खानेकुराको समेत अभाव भएर कठिनाइ उत्पन्न भएमा दूतावासमा, कम्पनीमा वा रोजगारदाता व्यवस्थापन पक्षसँग सम्पर्क गरी जानकारी गराउन पनि दूतावासले आग्रह गरेको छ ।
कुवेतमा झण्डै ५ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।