कैलालीमा अपरान्ह ४ बजेदेखि लकडाउनमा कडाइ गरिएको छ ।
अपरान्ह ४ बजेदेखि धनगढीलगायतका बजारहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
दुई दिनदेखि दैनिक दुई घण्टा लकडाउन खुकुलो पारेको स्थानीय प्रशासनले सोमबार अपरान्ह ४ बजेदेखि पुनः कडाइ गरेको हो। नेपालगञ्जमा १५ जनामा कोरोनाको संक्रमण पाइएपछि कैलालीमा समेत लकडाउनमा कडाई गरिएको जनाइएको छ ।
जनजीवन सहज बनाउन दुई घण्टा खुकुलो पारिएको लकडाउनमा सर्वसाधारणहरु निस्फिक्री भएर सवारी साधन र पैदल निस्किने र पसलहरु खुल्ने क्रम तीव्र भएपछि लकडाउन पूर्ववत कडाइ गर्ने निर्णय गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडसँगको छलफलपछि प्रजिअ बोहराले सोमबार अपरान्ह ४ बजेदेखि धनगढी बजार पूर्ण रुपमा बन्द गरिएको बताए ।
मेयर वडले धनगढीका व्यवसायी र उद्योग वाणिज्य संघसंगको छलफलमा सम्पूर्ण पसलहरु २५ गतेसम्मका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको बताए ।