प्रहरीले काठमाडौ उपत्यका भित्रिने नाकाहरुमा थप कडाइ गरेको छ । लकडाउनलाई थप कडाइ गर्न प्रधानमन्त्री केपी ओलीले गृहमन्त्रीलाई निर्देशन दिएपछि प्रहरीले उपत्यका भित्रिने नाकामा थप कडाइ गरेको हो ।
आइतबार साँझदेखि जिल्ला प्रशासन कार्यालयको पास लिएर आएका सवारी साधनलाई पनि चेकजाँचमा कडाइ गरिएको छ। ‘परिस्थिति हेरेर अत्यावश्यकलाई मात्र प्रवेश गर्न दिएका छौँ’, एक प्रहरी अधिकृतले भने, ‘आजदेखि थप कडाइ हुन्छ ।’
जिल्ला प्रशासनले सवारी पास दिने तर प्रहरीले रोक्ने गरेपछि अन्यौल बढेको छ । आफूले वितरण गरेका सवारी पास रोकेपछि सिडिओहरुले प्रहरीलाई फोन गरेर गुनासो गरिरहेका एक प्रहरी अधिकृतले बताए ।
सरकारले चौथो पटक थपेको लकडाउनको अवधि वैशाख २५ गते सकिँदैछ । काठमाडौ उपत्यकामा कोरोना भाइरसका नयाँ संक्रमित देखिएका छैनन् ।