logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउनको मोडल परिवर्तन गर्ने गरी आज उच्चस्तरीय समितिको बैठक बस्दै


अंकुरण खबर
806
Shares

लकडाउनको मोडल परिवर्तन गर्ने गरी आज साँझ कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री केपी ओलीसमेत सहभागी हुने गरी समितिको बैठक बालुवाटारमा बस्न लागेको रक्षामन्त्री इश्वर पोखरेलको सचिवालयले जनाएको छ ।

‘लकडाउन खुकुलो बनाउने गरी होइन, निश्चित ठाउँका मान्छे आवतजावत गर्न मिल्ने, अत्यावश्यक वस्तुको उत्पादन गर्न मिल्ने गरी मोडलमा मात्रै परिवर्तन गर्ने कि भन्ने छ,’ एक मन्त्रीले भने, ‘तर, लकडाउनको मोडलमा के-के परिवर्तन गर्ने भन्ने निश्चित भएको छैन। समितिका सदस्य रहेका मन्त्री र चार वटै सुरक्षा निकायको सुझावका आधारमा तय हुन्छ ।’

निश्चित दुरी कायम गरी उद्योग कलकारखाना खुलाउने गरी छलफल भईरहेको जनाइएको छ । तर, कतिपय मन्त्रीले धेरै मजदुर आ–आफ्ना घर गईसकेकाले फेरि उद्योग सञ्चालन गर्दा जोखिम बढ्न सक्ने भन्दै सचेत गराएका छन् ।

आज समितिको बैठकले लकडाउन मोडलबारे प्रस्ताव तयार पारेपछि आजै मन्त्रिपरिषद बैठकले निर्णय गर्ने तयारी छ । सरकारले पछिल्लो समय बढाएको लकडाउनको समयावधी बैसाख २५ गते सकिँदैछ ।