क्वारेन्टाइनमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएका बैतडीका एक व्यक्तिको कोरोना रिर्पोट नेगेटिभ आएको छ ।
बैतडीको पुर्चौडीका ६७ वर्षीय जुने लुहारको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । उनको शनिबार पुर्चौडी नगरपालिका–६ को क्वारेन्टाइनमा लैजाँदै गर्दा खडायत गाउँ नजिकैको बाटोमा मृत्यु भएको थियो ।
स्वाब सङ्कलन गरी परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
भारतीय सीमानाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका उनको शनिबार मृत्यु भएको थियो । लुहार यही वैशाख १८ गते भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै नेपाल आएका थिए।
एक महिनाअघि उपचारका लागि भारतको पिथौरागढ पुगेका लुहार लकडाउनका कारण पिथौरागढमै बसेका थिए।