अर्घाखाँचीमा जंगलबाट ल्याएको विषालु च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना बिरामी उपचाररत छन् ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–६ खिल्जीका ३२ वर्षिया रामकला महतरा र उनकी छोरी ७ वर्षीया वीपासा महतराको मृत्यु भएको हो । विषालु च्याउ खाएर बिरामी भएका उनीहरुको बुटवलको लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
अन्य दुई जना बिरामी रामकलाकी सासु ५९ वर्षीया लालसरी महतरा र देउरानी २१ वर्षीया लक्ष्मी महतराको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दुवै जनाको स्वास्थ्यमा सुधार आएपछि आईसीयू कक्षबाट मंगलबार जनरल वार्डमा सारिएको र भोलि डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।