नेपाल एयरलाइन्सको वाइडबडी ए३३० जहाज पूर्ण क्षमतामा यात्रु बोकेर अष्टे्रलियाको सिड्नीका लागि उडेको छ ।
बुधबार त्रिभुवन विमानस्थलबाट उडेको यो जहाजमा अष्ट्रेलिया र न्यूजिल्याण्ड २ सय ८१ जना यात्रु रहेको नेपालस्थित अष्ट्रेलियन दूतावासले उल्लेख गरेको छ । यो जहाज सिड्नी पुगेर नेपाल भने रित्तै फर्कनेछ ।
कोरोना भाइरसको संक्रमण भित्रने डरले नेपालले विदेशबाट नेपालमा यात्रु आउन प्रतिवन्ध लगाएको छ । नेपाल एयरलाइन्सको यो दोस्रो अष्ट्रेलिया उडान हो ।
यसअघि अष्ट्रेलियाकै ब्रिस्बेनमा नेपाल एयरलाइन्सको वाइडबडी जहाजले उडान गरिसकेको छ । अन्तराष्ट्रिय व्यवसायिक उडानमा लागेको लामो प्रतिवन्ध र स्थलमार्गमा लकडाउनका कारण नेपालमै अड्किएका यी दुई मुलुकका नागरिक आज स्वदेश फर्किएका हुन् ।
यात्रु स्वयमले टिकट काट्ने गरी अहिले सम्बन्धित मुलुकले चार्टर्ड उडानको व्यवस्थापन मिलाएका छन् । यस उडानमा समेत यात्रु स्वयमले नेपाल एयरलाइन्सबाटै सिधै टिकट काटेका छन् ।