बहराइनमा थप ८८ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । यससँगै संक्रमित नेपालीहरूको संख्या २ सय ४५ पुगेको छ ।
गत बिहीबार बहराइनमा रहेका थप ३१ जना नेपालीलाई कोभिड-१९ को संक्रमण भएको पुष्टि भएको थियो। बहराइनस्थित नेपाली दूतावासका अनुसार त्यसअघि एकैपटक ७७ जना नेपालीमा यस्तो संक्रमण भेटिएको थियो ।
बहराइनमा एक हजार ९ सय ५० जना संक्रमित उपचारमा छन् १ हजार ७ सय ६२ जना डिस्चार्ज भएका छन्। कोरोना संक्रमणकै कारण बहराइनमा अहिलेसम्म ८ जनाको मृत्यु भएको छ । बहराइनका लागि नेपाली राजदूतवासले चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएको छ ।
दूतावासका अनुसार कामदारहरूको बासस्थानमा सामाजिक दूरी कायम गर्न नसक्दा संक्रमणको दर बढिरहेको छ । एकै स्थानमा धेरै कामदार बस्ने गरेकाले एक जनामा भएको संक्रमण अन्यमा फैलिएकाले नेपाली कामदारहरू असुरक्षित बन्न पुगेका छन् ।
अहिले बहराइनमा आंशिक लकडाउन छ । कम्पनीहरू बन्द भएपनि ठूला परियोजनामा काम चलिरहेको छ । बिहान र बेलुका कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ । दूतावासले नेपाली कामदारहरुलाई सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन आग्रह गरेको छ ।
