भारतमा विकास भएर बिहीबार बिहान नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण आज देशभरको मौसम प्रभावित भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, कालो बादलसहितको हावाहुरी अहिले काठमाडौं उपत्यकामा प्रवेश गरिसकेको छ । यो प्रणालीले हुरीसहित चट्याङ र पानी पार्ने जनाइएको छ । यसले आज अपराह्न पूर्वी नेपाल प्रभावित गर्ने महाशाखाले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले अपराह्नसम्म काठमाडौं आइपुग्ने अनुमान गरिएकोमा उक्त मौसम प्रणाली अनुमान विपरित छिटो आइपुगेको बताइन् । “हावाहुरीको प्रतिघण्टा वेग त भन्न सकिएन, तर यो एकदमै छिटो छ”, उनले भनिन् ।
पश्चिमको महेन्द्रनगरबाट पूर्वतर्फ सर्दै गएको उक्त मौसम प्रणालीका कारण देशका पश्चिम भागमा हावाहुरीसहित वर्षा भएको छ ।