संघीय संसद्को बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । अपराह्न ४ बजे संसद् बैठक बोलाइएको छ।
कोभिड-१९ को संक्रमणकै बेला आह्वान भएको बजेट अधिवेशनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर बैठक बस्ने तयारी भएको हो । संसद् सचिवालयले आवश्यक सबै तयारी पूरा गरिसकेको छ।
हिजो नै संघीय सांसदहरूको कोरोना परीक्षण गरिएको छ। संसद् सचिवालय परिसरमा सांसदहरूको स्वाबको नमूना संकलन गरिएको छ । आज उनीहरू सबैलाई कोरोना परीक्षणको रिपोर्ट साथमै लिएर उपस्थित हुन भनिएको छ ।
दुई सय १२ जना सांसदसहित चार सय ४१ जनाको हिजो स्वाब नमूना संकलन गरिएको थियो। उनीहरूको परीक्षण रिपोर्ट भने आइसकेको छैन। बाँकीको आज परीक्षण गरिने छ।
१५ जेठमा संसद्मा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। बजेट पेश गर्नुअघि २८ वैशाखबाट प्रि-बजेटबारे छलफल हुनेछ। नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरेपछि बजेट प्रस्तुत गरिने छ।