परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको नक्सा सार्वजनिक गर्न कुनै समस्या नरहेको बताएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै मन्त्री ज्ञवालीले पर्याप्त अध्ययन गरेर नक्सा सार्वजनिक गर्ने बताए ।
“एक इन्च पनि कमी वा बढी नहुनेगरी नक्सा सार्वजनिक गर्ने तयारी भइरहेको छ । संसदीय समितिको निर्देशनअनुसार नै नक्सा सार्वजनिक हुने गरेमा समस्या छैन”, मन्त्री ज्ञवालीले भने । नेपाल सरकारको बक्तव्य पछाडि भारतको परराष्ट्र प्रवक्ताले छलफलमा बस्ने प्रतिक्रिया दिएकाले यसबारेमा छलफल हुने उनले बताए ।
भारतसँग जुनसुकै तहमा सीमा अतिक्रमणबारे छलफल गर्न तयार रहेको उनले बताए । गएको फागुन अन्तिम साता नै यसबारे छलफल हुने तय भए पनि महामारीका कारण रोकिएको उनले बताए ।
गएको नोभेम्बरमा राजनीतिक नक्सा सार्वजनिक गरेको भारतको नक्सामा नेपाली भूभाग अतिक्रमण गरिएको थियो । अहिले नेपाली भूमि लिपुलेक भएर सडक उद्घाटन गरिएकोमा गम्भीर आपत्ति जनाइएको पनि उनले बताए ।