logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डेढ महिनापछि खुलेको शेयर बजार : निर्धारित समय अघि नै नेगेटिभ सर्किट लागेर कारोवार बन्द


अंकुरण खबर
741
Shares

लकडाउन लागू भएपछि पहिलो पटक खुलेको शेयर बजारमा निर्धारित समय अघि नै नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ ।

लकडाउनका कारण अर्थतन्त्रमा समस्या परेको र शेयर बाजरमा उच्च गिरावट हुने अनुमान सहित नियामक निकाय धितोपत्र वोर्डले परिसूचक नेप्सेमा दुई प्रतिशत तलमाथि भए कारोबार बन्द गर्ने नयाँ व्यवस्था लागू गरेको थियो ।

सोही व्यवस्था अनुसार दुई घण्टाका लागि खोलिएको बजारमा १ घण्टा २३ मिनेट सम्म कारोबार हुँदा नेप्सेमा नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ । नेप्से २ दशमलव शुन्य २ प्रतिशतले घटेपछि आजका लागि कारोबार स्थगित भएको हो ।

डेढ महिनापछि खुलेको बजारमा नेप्से परिसूचक २५ अंक अर्थात २ दशमलव शुन्य २ प्रतिशतले घटेर १ हजार २ सय २६ दशमलव १५ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि १ दशमलव ९९ प्रतिशतले घटेको छ । बजारमा ८७ कम्पनीको २ सय ९१ कारोबारबाट १० करोड ४३ लाख ७२ हजार ६ सय ४६ रुपैयाँको १ लाख ६ हजार ३ सय १२ कित्ता शेयर कारोबार भएको छ ।

सबैभन्दा बढी घट्ने समूहमा बैंकिङ, जीवन बीमा र अन्य समूह रहेका छन् । सबैभन्दा धेरै कारोबार नागरिक लगानी कोषको ८ करोड ८८ ला ५७ हजार रुपैयाँ बढीको भएको छ ।

कारोबारमा आएका कुनै पनि कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छैन भने जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै २२ दशमलव ३८ प्रतिशतले गुमाएका छन् । सबैभन्दा धेरै कारोबार भएको नागरिक लगानी कोषका शेयरधनीले पनि झण्डै ३ प्रतिशतले गुमाएका छन् ।