श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएपछि सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारलाई होम क्वारेन्टिनमा राखिएको छ। उनी मंगलबार रातिबाट एक छोरा र एक छोरीसहित होम क्वारेन्टिनमा बसेका हुन्।
कञ्चनपुरबाट फर्किएकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई पनि क्वारेन्टिनमा राखिएको हो। उनी आफन्तको गाडीमा सोमबार ८ जना सँगै काठमाडौं आएकी थिइन्।
काठमाडौं आए लगतै श्रीमानले महिलालाई सशस्त्र प्रहरी अस्पताल बलम्बुमा कोरोना परीक्षणका लागि लगेका थिए। उनी सशस्त्र प्रहरीको बलम्बु अस्पतालको ल्याबमा कार्यरत छन्।
छोराछोरीमा संक्रमण नदेखिएको तर ती महिलामा भने संक्रमण देखिएको रिपोर्ट मंगलबार साँझ सार्वजनिक भएको हो। कोरोना संक्रमण देखिएपछि सशस्त्र प्रहरीको टोली गाडी लिएर ती महिलालाई लिन राति नै उनको घरमा पुगेको थियो।
उनलाई अस्पताल लगेपछि वरिष्ठ हवाल्दारलाई होम क्वारेन्टिनमा बस्न भनिएको छ। अहिले उनको पनि कोरोना परीक्षणका लागि स्वाब संकलनको तयारी भइरहेको छ।
डडेलधुरा घर भएका उनीहरु पछिल्लो समय कञ्चनपुर सरेका थिए। तर हाल चन्द्रागिरी नगरपालिका ९ मा बस्दै आएका छन्।