logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनामुक्त : स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै घर फर्किइन् ६३ वर्षीया आमा


अंकुरण खबर
871
Shares

चार साताको अस्पताल बसाइपछि कोरोनामुक्त भएर घर फर्कदै गर्दा ६३ वर्षीया आमाले अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताललाई धन्यवाद दिँदै बिदा भएकी छन् ।

दुई छोरासँगै वैशाख ३ गते भरतपुर अस्पताल आएकी आमा र एक छोरालाई कोरोना भाइरस सङ्क्रमण देखिएको थियो भने अर्का एक छोरामा नेगेटिभ देखिएको थियो । वैशाख १३ गते २७ वर्षीय छोरा सङ्क्रमणमुक्त भए पनि आमालाई निको हुन समय लागेको थियो ।

आमासँगै घर जाने बताएपछि सङ्क्रमण निको भएका छोरा पनि अस्पतालकै क्वारेन्टाइनमा बसेका थिए । आमालाई लिएर उनी पनि आज घर फर्किएका छन् ।

अस्पतालका तर्फबाट बिदाइ गर्दै फूल, गुच्छा र डिस्चार्ज दिएपछि खुशी हुँदै आमाले आफूलाई कोरोना भएको भनिए पनि शरीरलाई भने केही नभएको बताइन् । उनले भनिन्, ‘एकदमै राम्रो छ । आउँदा पनि यस्तै थियो अहिले पनि त्यस्तै छ ।’ उनले थपिन्, ‘सबैले मलाई कोरोना भयो भने मलाई त केही पनि भएको छैन ।’

अस्पतालको सेवाप्रति उनी निकै खुशी हुँदै नियमित रेखदेखमा रहेका नर्सिङ कर्मचारीलाई उनले विशेष धन्यवाद दिइन् । बिदाइ गर्दै अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले उनलाई शुभकामना दिए । स्वास्थ्यको ख्याल गर्न अधिकारीको सुझाव थियो ।

उनीहरु राप्ती नगरपालिका वडा नं ८ का हुन् । चैत ३ गते बेलायतबाट काठमाडौं आएर ५ गते राप्ती नगरपालिकास्थित घर आएका उनीहरुमध्ये आमाको वैशाख ३ गते र्‍यापिड डाइग्नोष्टिक परीक्षणका क्रममा शङ्कास्पद देखिएको थियो । आमामा शङ्कास्पद देखिएपछि आमा र आमासँगै आएका दुई छोराको समेत पिसीआर परीक्षण गर्दा वैशाख ५ गते आमा र एक छोरामा कोरोना पुष्टि भएको थियो ।