logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पतिले बालिका बलात्कार गर्दागर्दै पत्‍नीले बाहिरबाट चुक्कुल लगाइदिएपछि…


अंकुरण खबर
1.131K
Shares

बुधबार बिहानै परिवारका सबै सदस्य खेतमा काम गर्न निस्किए। सबै जना काममा व्यस्त रहे।

सबै काममा गए पनि मोरङको उर्लाबारी नगरपालिका-४ का ३९ वर्षीय तोमकुमार लिम्बू भने घरमै बसे। घरमा परिवारका सदस्य कोही पनि नभएको मौका छोप्दै उनले बुधबार बिहान स्थानीय १५ वर्षीया बालिकालाई ललाईफकाई बिहान ८ बजेतिर आफ्नै घरमा बोलाए।

प्रहरीका अनुसार बोलाएपछि घरमा आइपुगेकी बालिकालाई लिम्बूले कोठाभित्र लग्दै ढोका थुनेर बलात्कार गर्न थाले। त्यत्तिकैमा उनकी पत्नी घरमा आइपुगिन्। कोठाभित्र बालिकालाई राखेर पतिले गलत हर्कत गरिरहेको आशंकामा उनले बाहिरबाट ढोकाको चुक्कुल लगाइदिँदै छरछिमेकीलाई बोलाइन्।

वरपरका सबै भेला भएर सोधपुछ गर्ने क्रममा बालिकाले ललाईफकाई घरमा बोलाएर आफूमाथि तोमकुमारले बलात्कार गरेको कुरा खोलिन्।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले बालिकालाई बलात्कार गर्ने तोमकुमारलाई पक्राउ गरिएको जानकारी दिए। उनीविरुद्ध जवरजस्ती करणी मुद्दा चलाउन अनुसन्धान सुरु गरिएको राईले बताए।

उनका अनुसार स्थानीय बासिन्दा भेला हुन थालेपछि घरबाट फरार भएका तोमकुमारलाई मिक्लाजुङको जंगलतर्फ भाग्दै गरेको अवस्थामा बुधबार साँझ पक्राउ गरिएको हो। भाग्ने क्रममा लडेर उनको टाउकोमा चोट समेत लागेको प्रहरीको भनाइ छ। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।