कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले जेठ पाँच गतेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो।
स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग आज गरेको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्नेगरी मन्त्रिपरिषद्लाई सिफारिस गर्ने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले बताए।
लकडाउनको समीक्षा गर्दै समितिले उच्च जोखिममा रहेका क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी मोडालिटी परिवर्तन गर्ने तयारी गरेको विडारीले बताए।
त्यसैगरी समितिले अध्ययन वा अन्य कामको सिलसिलामा जापान र हङकङमा बस्दै आएका तर लकडाउनका कारण नेपालमै रहेका नागरिकलाई चार्टर्ड उडानमार्फत् पठाउने निर्णय पनि गरेको छ।
सचिव विडारीले जापान जानबाट रोकिएका ६०० र हङकङको आइडीप्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रक्रिया पूरा गरी पठाउने निर्णय भएको बताए।
समितिले आजै स्वास्थ्यक्षेत्रका विज्ञहरूसँग छलफल गरेको थियो। अहिलेको अवस्था र लकडाउनको मोडालिटी परिवर्तन गरी कसरी जनजीवन सहज बनाउन सकिन्छ भन्ने विषयमा गरिएको छलफलमा विज्ञहरूले परीक्षण, कन्ट्याक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको व्यवस्थापन राम्रोसँग गर्नुपर्ने सुझाव दिएका छन्।
आत्तिनुपर्ने अवस्था नभए पनि सचेत हुनुपर्ने, विदेशबाट आउनेहरूको सवालमा सम्बन्धित स्थानीय तहहरूमा क्वारेन्टाइनको उचित व्यवस्थान गर्नुपर्ने सुझाव दिइएको नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले बताए।