नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य समाग्री पहिलो पटक हवाईमार्गबाट नेपाल आइपुगको छ ।
नेपाल वायु सेवा निगमको वाइडबडी जहाजबाट आज (मंगलबार) बिहान १८.८४ टन स्वास्थ्य सामग्री नेपाल आइपुगेको नेपाली सेनाले जनाएको छ ।
सेनाका अनुसार पीसीआर परीक्षणका लागि चाहिने किट, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), एन ९५ मास्क, ग्लोब्सलगायतका सामान यो चरणमा आएका छन् ।
सेनाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि ३ सय ४२ टन स्वास्थ्य सामग्री चिनियाँ कम्पनीबाट खरिद गरेको छ । जसमध्ये गत शनिबार स्थलमार्ग तातोपानी नाकाबाट ९ टन स्वास्थ्य सामग्री काठमाडौं ल्याएको थियो ।
सेनाले स्वास्थ्य सामग्री खरिद गर्न वैशाख ७ गते चिनियाँ कम्पनी ‘चाइना साइनो फर्म इन्टरनेसनल कर्पोरेसन’लाई १ करोड ८४ लाख ४१ हजार ७ सय ६ दशमलव ३५ अमेरिकी डलर (२ अर्ब २० करोड रुपैयाँ) अग्रिम भुक्तानी गरेको थियो ।
चिनियाँ भन्सार कार्यालयले क्लियरेन्समा कडाइ गरेपछि सेनाले खरिद गरेको स्वास्थ्य सामग्री नेपाल ल्याउन ढिलाइ भएको हो।