नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सको वाइडबडी ए-३३० जहाजले आज जापानको नारितामा चौथोपटक चार्टर्ड उडान गर्दैछ ।
बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही जापानी तथा नेपाली लैजान नेपालस्थित जापानी दूतावासले निगमको बाइडबडी जहाज चार्टर्ड गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज राति ९ः०० बजे निगमको वाइडबडी जहाज नारिता अन्तर्राष्ट्रिय विमानस्थलका लागि चार्टर्ड उडान गर्ने तालिका रहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए ।
बन्दाबन्दीमा निगमले नारिताका लागि यो चौथो पटकको चार्टर्ड उडान गरेको हो । यसअघि जेठ ९ गते निगमको वाइडबडी जहाजले १९७ नेपालीसहित जम्मा २६८ यात्रु लिएर वाइडबडी जहाज नारिता गएको थियो । जसमध्ये १९७ नेपाली छन् ।
यसअघि जेठ २ गते निगमको वाइडबडी जहाजले दोस्रोपटक चार्टर्ड उडान गरेको थियो । गत चैत २८ गते निगमले नारितामा पहिलो चार्टर्ड उडान भएको थियो । नेपालमा रोकिएका केही जापानी तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगमको जहाजले नारितामा चार्टर्ड उडान गरेको हो ।