logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सोती घटनाका दोषीलाई कानुनी दायरामा ल्याऊ : मानवअधिकार आयोग


अंकुरण खबर
806
Shares

अन्तर्जातीय विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुम पश्चिमको सोतीमा भएको अमानवीय घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोग गहिरो दुःख व्यक्त गरेको छ।

घटनामा नवराज विश्वकर्मा, टीकाराम सुनार, गणेश बूढाको हत्या भएको छ भने अन्य ३ जनाको स्थिति अज्ञात छ।

आयोगले भनेको छ, ‘यस्तो अमानवीय र आपराधिक घटनाको सूक्ष्म र निष्पक्ष छानविन तथा अनुसन्धान गरी घटनामा संलग्न प्रत्येकलाई कानुनी दायरामा ल्याई कारबाही गर्न आयोग सरकार, स्थानीय प्रशासनको गम्भीर ध्यानाकर्षण गराउँदछ।’

आयोगले मंगलबार विज्ञप्ति जारी गरी घटनाका सम्बन्धमा प्रभावकारी अनुसन्धानको लागि आयोगको कर्णाली प्रदेश शाखा कार्यालय, जुम्लाबाट स्थानीय प्रहरी र प्रशासनलाई आवश्यक पत्राचार हुनुका साथै जिल्लास्थित मानव अधिकार अवस्था अनुगमन समितिबाट अनुगमन भइरहेको जनाएको छ।

यस्तै आयोगले देशका विभिन्न जिल्लामा बढ्दै गएको जातीय विभेदको घटनाप्रति शून्य सहनशीलता कायम गरी सबै घटनाको सूक्ष्म र निष्पक्ष अनुसन्धान गरी शीघ्र कानुनी कारबाही गर्न तथा घटनामा जीवन गुमाउनेका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनसमेत आग्रह गरेको छ।