कैलालीको त्रिनगर नाकाबाट बिहिबार पनि ठूलो सङ्ख्यामा नेपालीको उद्धार गरिएको छ ।
स्थानीय प्रशासनको समन्वयमा भारतमा अलपत्र परेका चार हजार ७९६ जना नेपालीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
उद्धार गरिएका कसैको पनि कोरोना संक्रमणको परीक्षण हुन नसकेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।
धनगढी उपमहानगरपालिकाले क्वारेन्टाइनमा राखिएका व्यक्तिलाई सामाजिक दूरी कायम गर्दै योग अभ्यास र स्वास्थ्यसम्बन्धी ज्ञान सिकाउने भएको छ । उपमहानगरपालिकामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
त्यसैगरी क्वारेन्टाइनमा रहेकालाई स्वास्थ्यसम्बन्धी ज्ञान दिनका लागि स्वास्थ्यकर्मी पनि परिचालन गरिने उपप्रमुख सुशीला मिश्र भट्टले बताए । स्वास्थ्यकर्मीले कोरोनालगायत अन्य रोगसम्बन्धी रोकथामका उपाय, सरसफाइ र क्वारेन्टाइनमा रहेकाको मनोबल उच्च बनाउने किसिमका ज्ञान दिने बताइएको छ ।