प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड बजेट विनियोजन भएको छ।
यसबाट थप दुई लाखलाई रोजगारी प्रदान गर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए। ५ अर्बको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई बढाएर आउँदो आर्थिक वर्षका लागि ११ अर्ब ६० करोड बनाइएको हो।
कोरोना महामारीले बेरोजगारी बढ्ने देखिएपछि प्रधानमन्त्री रोजगार कार्यक्रमबाट थप दुई लाख रोजगारी सिर्जना गर्ने उद्देश्यसहित ११ अर्ब ६० करोड बजेट विनियोजन गरेको अर्थमन्त्री खतिवडाले जानकारी दिए।
प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रदेश र स्थानीय तहमा दायरा विस्तार गर्ने पनि तयारी छ। सबै नागरिकलाई रोजगारी सिर्जना गर्न आफनो गाउँ आफै बनाउँ भन्ने कार्यक्रम अघि बढाइने उनले बताए।
२०७५ सालमा सुरु भएको सो कार्यक्रम अत्यधिक विवादित भएको थियो। २ अर्ब रुपैयाँबाट सुरु भएको कार्यक्रममा पहिलो वर्षमा श्रम तथा रोजगार मन्त्रालयले झारपात उखलेर सकेको थियो।
तर यो बर्ष भने कोभिड-१९ को कारण लकडाउन भएकोले सरकारले सो रकम अनौपचारिक क्षेत्रका कामदारलाई सार्वजनिक काम लगाएर सो कार्यक्रमको बजेट खर्च गरिरहेको छ।