भारतमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।
भारतमा पछिल्लो २४ घन्टामा ७ हजार ४ सय ६६ जना नयाँ संक्रमित भेटिएका हुन् । भारतको स्वास्थ्य मन्त्रालयले भनेको छ– पहिलो पटक एकै दिनमा यति ठूलो संख्यामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
भारतमा अब कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या पनि बढेर ४ हजार ७ सय ६ पुगेको छ ।
नयाँ तथ्यांकअनुसार अब भारतमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या चीनको भन्दा बढी भएको हो । चीनमा अहिलेसम्म कोभिड-१९ का कारण ४ हजार ६ सय ३८ जनाले ज्यान गुमाएका छन् ।
भारतमा अहिलेसम्म कोभिड-१९ का १ लाख ६५ हजार ७ सय ९९ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । यीमध्ये ७१ हजार निको भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ जहाँ ५९ हजार ५ सय ४६ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।