logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निगमको हङकङमा एकै दिन तीन चार्टर्ड उडान, फर्किए ५८२ यात्रु


अंकुरण खबर
676
Shares

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ ।

एयरलाइन्सका दुई न्यारोबडी ए-३२० तथा एक वाइडबडी ए-३३० जहाजमार्फत गए राति ५८२ यात्रु हङकङ फर्किएका छन् । उनीहरु केही हङकङेली र अधिकांश हङकङवासी नेपाली हुन् ।

निगमको दुई न्यारोबडी तथा एक वाइडबडी जहाजबाट एक–एक घण्टाको अन्तरालमा हङकङ उडान भरेको निगमले जनाएको छ ।

निगमको पछिल्लो उडान गए राति ११ बजे भएको थियो । नेपालमा लकडाउनका कारण रोकिएका हङकङमा बसोबास गर्ने नेपाली हङकङ फर्किएको निगमले जनाएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काले दुई न्यारोबडी जहाजले समान १५५ र एक वाइडबडी जहाजले २७२ गरी ५८२ यात्रु लिएर हङकङ उडेको जानकारी दिइन । उनले तीनवटै उडानका जहाज हङकङ पुगेर नेपालतर्फ उडान भरिसकेकाले दिउँसो काठमाडौं आइपुग्नेछन् ।

काठमाडौँ–हङकङ गन्तव्यको उडान साढे चार घण्टाको रहेको छ । तीमध्ये वाइडबडी जहाज भर्खरै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ ।