logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जघन्य घटनाका अपराधीलाई कडा कारवाही गर्न सरकार तयार : प्रधानमन्त्री ओली


अंकुरण खबर
728
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कडाभन्दा कडा सजाय दिन सरकार दृढतापूर्वक लागेको बताएका छन् ।

छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा मङ्गलबार शुभकामना सन्देश दिँदै उनले जघन्य घटनाका अपराधीलाई कारबाही गर्ने कुरामा सरकारले कुनै सम्झौता नगर्नेसमेत स्पष्ट पारे ।

सन्देशमा उनले जातीय छुवाछुत, विभेद वा छुवाछुतको पीडामा परेको निश्चित समुदायको मात्र नभइ हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रको समस्या रहेको भन्दै जातीय छुवाछुतका पीडितको मानव अधिकार संरक्षण गर्न, हिंसा अन्त्य गर्न, सम्पूर्ण व्यक्ति, परिवार, समाज र सम्बन्धित सबै निकायलाई संवेदनशील हुन आग्रह गरेका छन् ।

‘छुवाछुत तथा भेदभाव अन्त्य गर्न म तीनै तहका सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्था, नागरिक समाज, मिडिया र आम नागरिकलाई आह्वान गर्दछु’, उनको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पहिचान गरेर त्यसलाई प्राप्त गर्ने सङ्कल्प गर्दै त्यहाँसम्म पुग्ने बाटो तय गरेकाले त्यसका निम्ति भेदभावरहित सामाजिक न्याय र समानतासहितको समृद्धिलाई आफ्नो उद्देश्य बनाएको बताए ।

प्रधानमन्त्री ओलीले सरकारले सामाजिक बहिष्करण, छुवाछुत र यसका आधारमा हुने हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेकाले मानव हित विरुद्धका यस्ता गतिविधिलाई सरकारले किञ्चित सहन नसक्ने बताए ।

मानव सभ्यताको कलङ्कका रुपमा रहेको यस अमानवीय प्रथालाई कानुनी रुपमा अन्त्य गरेको भन्दै यसलाई सामाजिक रुपमा समूल अन्त्य गर्नका लागि आ–आफ्नो स्थानबाट सक्रिय रहन सबैमा उनले आह्वान समेत गरेका छन्।