नेपालका ६६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । बिहीबार तेह्रथुममा दुई व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै ६६ जिल्लामा कोरोना फैलिएको हो ।
तेह्रथुमको आठराइ गाउँपालिका-४ का २० वर्षीया युवती र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प संक्रान्तिमा कार्यरत २९ वर्षीय प्रहरी जवानमा कोरोना भाइरस पुष्टि भएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिए।
संक्रमित युवती जेठ १३ गते भारतबाट कपिलवस्तु नाका हुँदै तेह्रथुम आएकी हुन्। उनी छ महिनाकी गर्भवती रहेको स्थानीय प्रशासनले जनाएको छ।
अर्का सङ्क्रमीत सशस्त्र प्रहरी जवान भने गत दुई महिनादेखि क्याम्पमै रहेका हुन् । सङ्क्रमित दुवै जनालाई अहिले आठराइ गाउँपालिकाले तयार गरेको आइसोलेसनमा राखिएको छ।
१६ जेठमा उनीहरुसहित अन्य १९ जनाको स्वाब सङ्कलन गरी कोशी अञ्चल अस्पतालमा परीक्षणका लागि पठाइएको थियो। १७ जनाको रिपोर्ट आउन अझै बाँकी छ ।