रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा गत १० गते ६ जनाको ज्यान जाने गरि भएको घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेकालाई थप १० दिन हिरासतमै राख्न अदालतले अनुमति दिएको छ।
अनुसन्धानका लागि ११ दिनको म्याद थप माग गरिएकोमा जिल्ला अदालत रुकुम पश्चिमबाट १० दिनको म्याद थप गरिएको श्रेस्तेदार कृतबहादुर बोहोराले जानकारी दिए।
यो घटनामा मुछिएका चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, वीरबहादुर मल्ल, प्रकाश मल्लसहित १८ जनालाई हिरासतमा राखिएको छ। पहिलो पटकलाई १० दिन हिरासमै राख्न आदेश भएको थियो। यो थप १० दिनसँगै जम्मा २० दिन हिरासतमा राख्ने आदेश हुन्छ।
मृतक परिवारको तर्फबाट २० जनामाथि किटानी जाहेरी दर्ता भएपछि प्रहरीले १८ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।
जेठ १० गते सोतीस्थित मल्ल थरकी प्रेमिकालाई बिहे गरेर लैजान जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए। उनीहरुको आक्रमणमा ६ जना युवाको ज्यान गएको थियो।