नेपालका लागि रोजगारीका प्रमुख गन्तव्य मानिएका ६ मुलुकबाट मात्रै झण्डै ४० हजार नेपालीलाई फर्काइने भएको छ।
यी देशस्थित नेपाली दूतावासले तत्काल फर्किनुपर्ने नेपालीको विवरण संकलन गरेर पठाएका छन्।
कतार, मलेसिया, साउदी अरब, यूएई, बहराइन र ओमानबाट मात्र ३९ हजार ४ सय २० जना फर्किनै पर्ने अवस्थामा रहेको दूतावासहरुको तथ्यांक छ।
विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा फर्काइने भनिएपनि कोरोना संकट व्यवस्थापन समिति (सीसीएमसी) ले पहिलो चरणमा रोजगारदाता र सम्बन्धित देशले नै फर्काइदिने तयारी गरेका नेपालीलाई ल्याउने निर्णय गरेको छ।
नेपाल सरकारको खर्चमा ल्याइने नागरिक भने पछि मात्रै आउन पाउने सीसीएमसीका एक सदस्यले जानकारी दिए।
दूतावासहरुले परराष्ट्र मन्त्रालयमा दिएको जानकारी अनुसार सबैभन्दा बढी युएईबाट नेपाली फर्किने छन्।
यूएईमा मात्रै १७ हजार ३ सय ७५ जना नेपाली फर्किनुपर्ने अवस्थामा छन्। यस्तै कतारबाट ८ हजार ३ सय ७० जना नेपालीले फर्किन फारम भरेका छन्।
साउदीबाट ६ हजार ५ सय ४४ जना र मलेसियाबाट ६ हजार २ सय नेपाली फर्किने भएका छन्। यस्तै ओमानबाट ६ सय ५६ र बहराइनबाट २ सय ८५ जना नेपालीले फर्किन फारम भरेका छन्।
कुवेतबाट आममाफी पाएका तीन हजार र अन्य ५ हजारजति फर्किने आंकलन गरिएको छ। तर त्यहाँको अन्तिम तथ्यांक प्राप्त भइसकेको छैन।
यूएईबाट शुक्रबारदेखि नै नेपाली फर्किन थाल्ने छन्। युएईले ८ वटा चार्टर्ड उडानको तालिका पठाइसकेको छ।