केही स्थानबाहेक शुक्रबार बिहानैदेखि देशैभरजसो वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार अहिले (शुक्रबार बिहान ७ः२५ बजे) काठमाडौं उपत्यकासहित बागमती, प्रदेश १, २ र गण्डकी प्रदेशका सबै क्षेत्रमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। साथै प्रदेश ५ को दाङदेखि पूर्व वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदलीको अवस्था छ।
‘काठमाडौं उपत्यकादेखि पश्चिमी क्षेत्रमा बिहान २ बजेदेखि नै वर्षा सुरु भएको हो, यो प्रणाली पश्चिमबाट पूर्व सर्दै आएकाले काठमाडौं उपत्यकामा यसभन्दा केही ढिलो र योभन्दा पूर्वका क्षेत्रमा अझ केही समयपछिदेखि वर्षा भइरहेको हो,’ शुक्रबार बिहान मौसमविद् श्रेष्ठले भने, ‘वर्षा आज दिनभर नै रहने देखिन्छ।’
अहिलेको बदली र वर्षा प्रमुख रूपमा अरब सागरमा बनेको निसर्ग चक्रवात (सामुद्रिक आँधी) कमजोर भएर बनेको न्यून चापीय क्षेत्रको प्रभावले हो भने देशमा अहिले पश्चिमी तथा स्थानीय वायुको समेत प्रभाव छ।
यसैबीच बाढी पूर्वानुमान शाखाले देशभरजसो वर्षा भइरहेकाले साना तथा ठूला विभिन्न नदी खोलामा बाढी आउन सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आह्वान गरेको छ।
यस्तै मौसम पूर्वानुमान महाशाखाले पनि शुक्रबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै उच्च हिमाली भेगका केही स्थानमा हिमपातको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन हुन अनुरोध छ।