सरकारले विभिन्न देशमा अलपत्र परेका नेपालीहरुलाई शुक्रबारदेखि स्वदेश फर्काउँदै छ।
पहिलो चरणमा २५ हजार नेपालीलाई विदेशबाट उद्धार गर्ने सरकारको योजना छ । तीमध्ये केहीलाई रोजगारदाता देशले नै नेपाल फर्काउँदैछन्।
यसरी आउने नेपालीलाई सरकारले क्वारेन्टाइनमा राख्ने छ। त्यसका लागि कि आफैले पैसा तिरेर होटलमा बस्नुपर्ने छ या सरकारले बनाएका प्रादेशिक वा स्थानीय निकायका क्वारेन्टाइनमा बस्नुपर्ने छ।
पहिलो चरणमा आउन लागेका नेपालीहरुका लागि होटलमा बस्न चाहनेका हकमा विभिन्न पाँच स्थान तोकेर त्यहाँका होटलहरुको व्यवस्था गरिएको छ।
सरकारले होटलमा बस्न चाहनेहरुका लागि नगरकोट, धुलिखेल, पोखरा, चितवन र भैरहवाका होटलमा शशुल्क क्वारेन्टाइनको व्यवस्थापन गरेको छ ।
होटेल एसोसिएसन अफ नेपालका अनुसार पोखरामा तीन हजार, चीतवनमा ५५ सय, भैरहवामा ४ हजार र धुलिखेल र नगरकोटमा गरी चार हजार कोठामा क्वारेन्टाइनको व्यवस्था मिलाइएको छ ।
शुक्रबार म्यानमारबाट २६ जना र यूएईबाट एक सय ६८ जना नेपाली स्वदेश फर्कँदैछन् । म्यानमारबाट फर्कने सबै २६ जनाको भने उतै पीसीआर परीक्षण भएकोले उनीहरु होम क्वारेन्टाइनमा बस्ने छन् ।