रौतहटको राजपुरमा एक दर्जन व्यक्तिलाई ज्यूँदै इँटाभट्टामा जलाइएको घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको सिम्रोनगढ नगरपालिका–४ का ५५ वर्षीय मुक्ति साह छन् । साह पूर्वमन्त्री तथा सांसद मोहमद अफताब आलमका सहयोगी रहेको खुल्न आएको प्रहरीको भनाइ छ ।
भारतबाट नेपाल प्रवेश गरेको भन्ने विशेष सूचनाको आधारमा साहलाई शनिबार पक्राउ गरिएको प्रदेश २ का डीआईजी धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।
२०६४ साल चैत २८ को संविधानसभा निर्वाचनको अघिल्लो दिन चैत २७ मा चुनावमा बुथ कब्जा गर्ने उद्देश्यले आफैंले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री आलम अहिले कारागारमा छन् ।
साह त्यतिबेला इँटा भट्टाको मिस्त्री रहेको प्रहरीले जनाएको छ ।