कास्कीका पहिलो संक्रमित ६० वर्षीय पुरुषको प्रत्यक्ष सम्पर्कमा रहेका ३८ जनाको स्वाब संकलन गरिएको छ ।
संक्रमित ती पुरुषको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका आपतकालीन कार्यसञ्चालन केन्द्र संयोजक नवराज शर्माका अनुसार पहिचान धेरैको भए पनि प्राइमरी कन्ट्याक्टमा भने ३८ जना मात्रै थिए ।
उनीहरुको नमुना संकलन गरी परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
गत शुक्रबार कोरोना पुष्टि भएका ती पुरुष मंगगलबार पोखरास्थित डेरामै बेहोस भएपछि सोही दिन थप उपचारका लागि काठमाडौं रेफर गरिएको थियो । उनलाई कसरी र कहाँबाट कोरोना संक्रमण भयो भन्नेबारे अहिलेसम्म कुनै नतिजा भेटिएको छैन ।