logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेयर बजार खोल्न अर्थमन्त्रीको निर्देशन


अंकुरण खबर
585
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार खोल्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएका छन्। कोरोनासँग लड्दै अर्थतन्त्रलाई चलायमान बनाउन बिस्तारै आर्थिक गतिविधि अघि बढाउनुपर्ने उनको भनाइ छ।

धितोपत्र बोर्डको वार्षिकोत्सव कार्यक्रमलाई अनलाइनबाट सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले कोरोनाविरुद्धको लडाइँ जितेपछि मात्र अरु काम गरौंला भन्नुभन्दा पनि अब कोरोनासँग लड्दै अघि बढ्नुपर्ने बताए।

उनले भने, ‘मानव जीवन रक्षा पहिलो प्राथमिकता भए पनि अब दैनिक आवश्यकता पूरा गर्नका लागि आर्थिक क्रियाकलाप चलायमान बनाउनुपर्छ ।’

सरकारले कोरोना संक्रमण नहुने गरी आवश्यक सुरक्षा अपनाउँदै उद्योग, प्रतिष्ठान, बैंकिङ, बिमालगायतका व्यवसाय सुरु गरको भन्दै खतिवडाले सेयर बजार खोल्न आवश्यक तयारी थाल्न पनि निर्देशन दिए।

यसैगरी खतिवडाले पुँजी बजारमा सबैको पहुँच पुर्याउन र सर्वसाधारणको सहभागिता सुनिश्चित गर्न पनि बोर्डलाई निर्देशन दिए। नयाँ ऐनबाट धितोपत्र बोर्डलाई कमोडिटी बजारको नियमनको जिम्मेवारीसमेत समेट्न लागिएको जानकारी उनले दिए।

नेपालको सेयर बजारमा संस्थागत लगानीकर्ता कम हुँदा बजार बिनाकारण अस्थिर रहेको भन्दै यसलाई दिगो बनाउन संस्थागत लगानीकर्ता भित्र्याउनसमेत अर्थमन्त्रीले निर्देशन दिए।