कोरोना भाइरसको संक्रमण नेपालका ७१ जिल्लामा फैलिसकेको छ। पछिल्लो पटक रोल्पामा पनि संक्रमित देखिएपछि अब ६ जिल्ला मात्र सुरक्षित देखिएका छन्।
प्रदेश-१ मा इलाम र ओखलढुंगा कोरोना संक्रमणबाट सुरक्षित छन्। यस्तै, वागमती प्रदेशको रसुवा अहिलेसम्म सुरक्षित छ। गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ र मुस्ताङ पनि अहिलेसम्म कोरोना संक्रमणबाट सुरक्षित छन्।
कर्णाली प्रदेशको पश्चिम रुकुममा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन।
२३ जेठमा कर्णालीको हुम्ला तथा गण्डकीको गोरखा र कास्कीमा संक्रमित फेला परेका थिए। यस्तै, २४ जेठमा कर्णालीकै जाजरकोट र डोल्पामा पहिलोपटक कोभिड-१९ का बिरामी भेटिएका छन्।
२५ जेठमा प्रदेश-५ को रोल्पामा पनि संक्रमित भेटिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमण फैलिएका जिल्ला ७१ पुगेका हुन्।
सुदूरपश्चिमका नौवटै, कर्णाली प्रदेशका १० मध्ये नौ, प्रदेश-५ का १२ वटै, गण्डकी प्रदेशका ११ मध्ये नौ, वागमती प्रदेशका १३ मध्ये १२, प्रदेश-२ का आठवटै र प्रदेश-१ का १४ मध्ये १२ जिल्लामा कोरोना संक्रमित देखिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार आज बिहानसम्म देशभर तीन हजार चार सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये सबैभन्दा बढी प्रदेश-२ मा देखिएका छन्। सबैभन्दा कम वागमती प्रदेशमा ९२ जना मात्र संक्रमण देखिएको छ।
गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पहिलोपटक १० माघमा पुष्टि भएको थियो।