काठमाडौं जिल्ला प्रशासन कार्यालयले लकडाउनमा कडाइ गरेको छ ।
लकडाउनको अवज्ञा गरी अत्यावश्यक सेवा बाहेकका पसल खोल्ने र सवारी चलाउने क्रम बढेकाले बिहानैदेखि कडाइ गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।
जेठ २२ गते उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र व्यवसायीहरू बसेर एकखालको समझदारी भएको थियो । तर, उलङ्घन गर्ने क्रम बढ्यो । हिजो आज पनि धेरै पसल खुले । त्यसकारण आजबाट कडाइ गरिएको छ । ‘उहाँहरूका सन्दर्भमा सरकारले थप निर्णय लिने नै छ । अहिले ३२ गतेसम्म लकडाउन भएकाले सोही अनुसार हामी कार्यान्वयन गर्छौं,” प्रजिअ दाहालले भने ।
प्रशासनले निर्देशन दिएपछि उपत्यकामा बिहानैदेखि लकडाउन कसिलो बनाइएको छ । नयाँ सडक क्षेत्रमा व्यापारी र प्रहरीबीच झडप नै भयो । अन्यत्र पनि प्रहरीले अत्यावश्यक सेवा बाहेकका पसल, उद्योग बन्द गराइरहेको छ ।