कुवेतबाट नेपाली कामदार लिएर बुधबार एउटा विमान आउने भएको छ ।
यसअघि बुधबार कुवेतले दुईवटा फ्लाइटमार्फत त्यहाँ कार्यरत नेपाली कामदारलाई फर्काउन लागेको बताइए पनि बुधबार एउटा मात्रै विमान आउने भएको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसिएमसी) स्रोत र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ।
सरकारले विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेपछि आफ्नो देशमा अलपत्र नेपाली कामदारलाई कुवेतले आफै पठाउन लागेको हो ।
कुवेतमा अवैध, श्रम सम्झौता सकिएका र आम माफी पाएका नेपालीको संख्या पाँच देखि ८ हजार रहेको छ । बुधबार एउटा विमानमा १५० जना नेपाली आउने र सबै महिला रहेको सीसीएमसी स्रोतले बताएको छ ।
विदेशबाट आउने नेपालीले होटल वा प्रदेशका क्वारेन्टिनमा १४ दिन बस्नुपर्ने छ । सरकारले पहिलो चरणमा विदेशमा अलपत्र २५ हजार नेपालीलाई स्वदेश फर्काउने तयारी गरेको छ ।
विभिन्न देशमा रहेका दूतावासले स्वदेश फर्कन चाहने नेपालीको तथ्यांक संकलन गरिरहेका छन् ।
यसअघि गएको शुक्रबार एयर अरेबियाले दुबईबाट एक सय ६८ नेपाली कामदार लिएर आएको थियो।