प्रधानमन्त्री केपी ओलीले भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालका विषयमा दिएको अभिव्यक्ति निन्दनीय रहेको बताएका छन् ।
उनले मुख्यमन्त्री योगीले नेपाललाई हेप्न खोजेको भन्दै नेपाल हेपिन तयार नरहेको स्पष्ट गरे । ‘यदि योगीजीले त्यसरी बोल्नु भएको हो भने त्यो जायज होइन, त्यसरी नेपाललाई धम्क्याउन खोज्नुभएको हो भने उचित होइन’, विनियोजित बजेटबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा बुधबार प्रतिनिधिसभा बैठकमा ओलीले भने, ‘योगी भारतको केन्द्र सरकारको मान्छे होइन, मुख्यमन्त्रीकै हैसियतमा बोल्नुभएको हो भने पनि त्यो आलोच्य विषय हो, नेपाललाई धम्की दिनुभएको हो भने निन्दनीय विषय हो ।’
ओलीले योगथीको अभिव्यक्तिलाई नेपालमाथिको अवहेलनाको संज्ञा दिँदै भने, ‘ नेपाल हेपिन तयार छैन, हेपिन मान्दैन भन्ने कुरा योगीजीलाई स्मरण गराउन चाहन्छु ।’
गत साता एक अन्तर्वार्ताका क्रममा उनले नेपालले भारतको सहमतिबिना आफ्नो सीमा निर्धारण गरेको भन्दै त्यसको चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए ।