नेपाल एयरलाइन्सले हङकङ र जापान गरेको चार्टर्ड उडानमा अनियमितता भएको विषयमा छानबिन गर्न समिति गठन गरेको छ ।
एयरलाइन्सको जहाज हङकङ र जापानका लागि चार्टर्ड गर्दा ट्राभल एजेन्सीले यात्रुबाट सरकारले तोकेभन्दा दोब्बर बढी रकम लिई टिकट बिक्री गरेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव सुरेश आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।
समितिमा सहसचिव सुरेश आचार्य सहित मन्त्रालयका उपसचिव राजन नेपाल, पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा र नेपाल नागरिक उड्डयन प्राधिकरणका हवाई यातायात महाशाखा प्रमुख सदस्य रहेका छन् ।
जहाज चार्टर्ड गरी यात्रु ओसार्दा टिकट बिक्री गर्ने चार्टर्ड पार्टी एवं ट्राभल एजेन्सीले यात्रुसँग के आधारमा के कति भाडा लिएको भन्ने सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।
भाडादर नखुलेको अवस्थामा र चार्टर्ड गरेको रकमको आधारमा विमान कम्पनीले नियमानुसार दिने कमिसन र अन्य देशमा बुझाउनुपर्ने कर दायित्वको आधारमा प्रस्तावित भाडा दर उचित भएको देखिएमा मात्र चार्टर्ड उडान अनुमति प्रदान गरिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।
अब जहाज चार्टर्ड गर्न यात्रुको नामावली र भाडादर स्पष्ट खुलाउनुपर्ने छ । अन्यथा मन्त्रालयले कारबाही गर्ने छ ।