पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँमा ६ जनाको ज्यान जाने गरि भएको घटनाको अनुसन्धानको लागि प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय घमण्ड मल्ल, बिष्णु मल्ल र सबिन पुन रहेका छन् । घमण्ड र बिष्णु मृतक परिवारले कर्तब्य ज्यानको किटानी जाहेरी गरेका फरार ब्यक्ति हुन् । सबिनलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
योसँगै मृतकका परिवारले किटानी जाहेरी दिएका २० जना नै पक्राउ परेको प्रहरीले जनाएको छ । किटानी जाहेरी परेका बाहेका अन्य आठ जनालाई पनि हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । हत्याको घटनाको अनुसन्धानका लागि प्रहरीले २८ जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । अनुसन्धान प्रक्रिया अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।
चौरजहारी नगरपालिका–८, सोतीमा गत जेठ १० गते प्रेमिका लिन पुगेका नवराज विक सहित छ जना युवक भेरी नदिमा मृत फेला परेका थिए । मृतकका परिवारले उनीहरुको हत्या भएको भन्दै प्रहरीले जाहेरी दिएका छन् । घटनाको छानविनका लागि संसदीय विशेष समिति समेत गठन भएको छ ।