पर्वतको कुश्मा नगरपालिका-३, दुर्लुङमा पहिलो जाँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । अझै एक जना बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार मृत्यु हुनेमा स्थानीय ५८ वर्षीय तुलबहादुर थापा, ५२ वर्षीय मिनकुमारी थापा, विविशा थापा, बाग्लुङ जैमुनी-९ घर भइ माइती आएकी ३० वर्षीय डिरपा थापा, १७ वर्षीय विवेक थापा, १४ वर्षीय सम्राट थापा, कुश्मा-३ का २६ वर्षीय कमला विक, प्रमिश विक र ७ वर्षीया प्रमिशा विक छन् ।
थप एक जनाको खोजी कार्य भइरहेको पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताए । उनका अनुसार १३ वर्षीय जेनिश विक अझैसम्म भेटिएका छन् । उनको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भएको सुवेदीले बताए ।
अहिले पनि पानी परिरहेकोले खोजी कार्य केही प्रभावित भएको छ । ९ जनाको शवलाई भने पोष्टमार्टमका लागि पर्वत जिल्ला अस्पताल पठाइएको छ ।
शनिवार साँझ झण्डै दुई घन्टासम्म परेको मुसलधारे भीषण वर्षासँगै माथिबाट पहिरो आएको थियो । त्यसक्रममा १० जना पुरिएका थिए ।